ललिता निवास जग्गा प्रकरणमा अधिकृत पौडेल जेल चलान

  Sampatti News

March 16, 2020

ललिता निवास जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई जेल चलान भएका छन् ।

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा प्रकरणका एकजना अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले गरेको थियो। विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो।

ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए। विशेष अदालतले पहिलो प्रतिवादीसँग धरौटी नमागी थुनामा पठाएपछि अरुमाथि पनि यस्तै आदेश आउने सम्भावना बढेको छ।

ललिता निवासको जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते गच्छदारसहित तीनवजना पूवमन्त्री, तीनजना पूर्वसचिव र अवकाशप्राप्त तथा बहालवाला कर्मचारीसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।

प्रकाशित मिति:March 16, 2020