आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दै

  Sampatti News

December 19, 2021

आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दै

काठमाडौं-आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो ।

संसदमा जारी अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताईएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

एमसीसी लगायतका विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुने बताईएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ ।

यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा एकमत छैन ।

खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ ।

तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने नजाने सो पार्टीका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति:December 19, 2021