नेवार समुदायले योमरी पुन्हि तथा ज्यापु दिवस मनाउँदै

  Sampatti News

December 19, 2021

आज काठमाण्डौ उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् ।

योमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ ।

त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो ।

नयाँ धानको चामलको पिठोलाई माछा कोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ ।

योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ योमरीलाई पनि पानीको बाफमा पकाइन्छ ।

तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ ।

योमरी कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ ।

नयाँ धानको चामलको यस्ता भक्काहरूलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ ।

यस वर्षको भक्का खाने औपचारिक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ ।

पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा शदिऔंदेखि चलि आएको हो ।

नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ ।

शायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् ।

योमरी पुन्हिका दिन पनि यससङ सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छ:

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य:छिं त्यस्, बकछिं त्यस्
लातापाता कुलिचां जुसें त्य:…

यस दिन केटाकेटीहरू रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्व कालदेखि हुँदै आएको पाइन्छ ।

योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँ खाले परिकारका रूपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरूलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर योमरी नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरी भन्नाले मनपर्ने रोटी भन्ने बुझाउँदछ ।

योमरीको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसारस् योमरी देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडी रहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ ।

कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

ज्यापु दिवस

साथै आजैको दिन ज्यापु दिवस पनि मनाइदै छ ।

ज्यापू सस्कृतीको रक्षार्थ विसं २०६१ सालबाट यस दिवस मनाउन थालिएको हो ।

नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेष भूषा तथा एकता जस्ता पारम्परिक महत्त्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेत कालागि हरेक वर्ष काठ्माण्डौ उपत्यकाका भिन्न भिन्नै स्थानको अगुवाइमा आयोजना हुने ज्यापु दिवस आज काठमाण्डौको कमलादीबाट प्रारम्भ हुँदै छ ।

धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथि हाकु पटासी अनि ज्यापु लः अर्थात् ज्यापु लुगाले त झन जात्रा हेर्न लायकको देखिन्छ ।

यस १८औँ ज्यापु दिवस ज्यापु दिवस ११४२ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकीहरू देखाउने परम्परा रही आएको छ ।

नेवार समुदायले योमरी पुन्हि तथा ज्यापु दिवस मनाउँदै

प्रकाशित मिति:December 19, 2021