मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

  Sampatti News

December 20, 2021

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

हेटौडा-मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए ।

उनको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो ।

जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो ।

उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाएका छन् ।

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ ।

उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए ।

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ ।

जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ ।

सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ ।

त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:December 20, 2021