केपी ओली अहिले पनि प्रतिगमनकै बाटोमा: प्रचण्ड

  Sampatti News

December 20, 2021

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।

उनले ओलीले प्रतिगमनकै निरन्तरतास्वरुप सदन अवरुद्ध गर्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

तत्कालीन नेकपामा माधवकुमार नेपाल, झलनाथ खनाल र आफूसँग पार्टीको हिस्सा ७५ प्रतिशत रहेको र त्यहीँ देखेर ओलीले संसद विघटन गरेको पनि प्रचण्डले बताए । ‘७५ प्रतिशत हामीसँग थियो । पार्टी यहीँ रुपमा चल्ने हो भने, पार्टीविहीन, चुनाव चिन्हविहीन हुने देख्नुभयो । र, कुटिल दिमागले प्रतिनिधिसभा विघटन गरे अर्काे निर्वाचन जाने र आफू सुरक्षामा हुन आत्मसुरक्षा चाले,’ अध्यक्ष प्रचण्डले भने, ‘बाहिर मलाई पार्टीभित्र कामै गर्न दिइएन र संसद विघटन गरेको हो भनेर भन्नुभयो । पार्टीभित्रको समस्या समाधान गर्ने पार्टीको विधि र विधान हुन्छ । र, संसदीयभित्रका समस्या हल गर्ने आफ्नै विधि र पद्धति हुन्छ । तर, जनताको सार्वभौमसत्तालाई विघटन गर्नुजस्तो निर्लज्जा के हुन्छ । र, अब यस्तो कहिल्यै हुननपाओस् भन्ने सन्देश दिनुछ ।’

बहसका क्रममा अध्यक्ष प्रचण्डले भने– ‘ओलीजी अहिले पनि प्रतिगमनकै बाटोमा छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो । आजभोली तपाईं–हामीले सदनभित्र जे देखेर भोगीरहेका छौँ, त्यो प्रतिगमनकै निरन्तरता हो, उहाँको तर्फबाट । संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनका निम्ति वातावरण तयार पार्ने षड्यन्त्रमा उहाँ अहिले पनि लागिराख्नु भएकै छ । त्यो प्रतिगमनकै निरन्तरता हो ।’

उनले अहिले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्दै अहिले संसद् अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए।

उनले अगाडि थपे,’निर्वाचन आयोगले मान्यता दिएको छ। अदालतले निर्णय गरिदिएको छ। संसदले स्वीकार गरेको छ। ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ। त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्रविरोधी निरंकुश हो भन्ने कुरा प्रष्ट नै देखिन्छ।’

नेकपा एमालेले सभामुखको राजीनामा माग गर्नुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । अध्यक्ष प्रचण्डले भने– ‘ह्वीप लाग्दैन भन्ने अदालतको फैसला छ, सभमुखले १५ दिनभित्र लिनुपर्ने निर्णय १३ दिनमै लिनुभएको छ । त्यहाँ कतै ऐनको उलंघन पनि भएको छैन ।

अध्यक्ष दाहालले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसिसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले प्रतिगमनकारी शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गरिरहेको समेत आरोप लागएका छन् ।

उनले भने– ‘उहाँले जस्ता शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गर्नु भएको छ, ती प्रतिगमनकारी शक्तिहरुसँग नै हुन् । म के देख्छु भने उहाँको त्यो निरन्तर प्रयास भइरहेको छ त्यसले तपाईं–हामी सबैलाई पनि नकारात्मक ढंगले सर्तक हुन मद्दत नै गरेको छ ।’

प्रकाशित मिति:December 20, 2021