नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी: माधव नेपाल

  Sampatti News

December 21, 2021

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी: माधव नेपाल

पोखरा-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले एमाले केपी ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भएको बताएका हुन् ।

नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए ।

उनले भने ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले‘ त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ,’।

उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए ।

मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रलाई सम्झिदै उनले भने, ‘एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए ।

‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग १ कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो । रमाइलो भयो,’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ ।

ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उनले सुनाए ।

ओलीको सातो गएको छ

संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी समेत नेता नेपालले गरेका छन् ।

आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ ।

कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’

मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो ।

अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाएका छन ।

संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्‍या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर्‍या’छन् ?’

भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल,उपाध्यक्ष प्रमेश हमाल,महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिनेछन् ।

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी: माधव नेपाल

प्रकाशित मिति:December 21, 2021