संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

  Sampatti News

December 25, 2021

संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले संसदमा गाईजात्रा देखाइरहेको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेको सत्य सावित गर्न एमालेले संसदमा गाईजात्रा देखाइरहेको प्रचण्डको तर्क थियो ।

उनले भने, ‘संविधान उल्टाउन चाहने तत्वहरु अहिले पनि चुप छैन। सदनमा गाईजात्रा देखाइरहेका छन्।

सर्वोच्च र निर्वाचन आयोगको फैसलाविरुद्ध एमाले गुट प्रतिनिधिसभा काम छैन भन्ने सावित गर्नको लागि संसद चल्न दिइरहेको छैन । पहिला आफूले दुई पटक विघटन गरेको सत्य सावित गर्न गाईजात्रा देखाइरहेको छ।’

एमालेले गठबन्धन फुटाउन विभिन्न षड्यन्त्र गरिरहेको र यो एमालेको दिवा सपना कुनै हालतमा पुरा नहुने उनले बताए ।

संविधान र लोकतन्त्र उल्ट्याउनका लागि एमाले जस्ता भिजिलान्तेसँग लागेर प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउन थालेको उनको भनाई थियो।

प्रचण्डले भने, ‘गठबन्धन टुटाउन कांग्रेस तयार भयो भने एमसिसी पास गर्न दिएर कांग्रेसको एकलौटी सरकार बनाउन दिने बताइरहेका छन् ।

यी खालका नाटक चलिरहेका छन् ।

एमसिसीको बिषयमा राष्टिय हित र जनताको भावनालाई हितलाई लिएर आवश्यक परिमार्जन गरेर अगाडि बढाउने पक्षमा छौँ। अहिलेकै अवस्थामा अगाडि जाँदैन।’

पहिलो पार्टी बनेको बेलामा जनताहरुप्रति गम्भिर बन्न नसकेको उनले स्वीकारे ।

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अहिलेकै अवस्थामा पारित नहुने उनले बताए।

‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ।

अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ’ प्रचण्डले भने।

संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

प्रकाशित मिति:December 25, 2021