जलविद्युत् आयोजनामा पाइप पड्कँदा दुईजना इन्जिनियरको मृत्यु

  Sampatti News

December 27, 2021

काठमाडौँ-दूधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणको क्रममा पाइप पड्कँदा दुईजना इन्जिनियरको मृत्यु भएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका– ३ मा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा उक्त दुर्घटना भएको हो ।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारी अवस्थामा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप पड्कँदा दुईजना इन्जिनियर मृत्यु भएको आयोजनाका सुपरभाईजरले जनाएका छन् ।

आइतबार अपराह्न फलामको पाइपमा पानी हाल्ने क्रममा सो पाइप पड्किएपछि उक्त घटना घटेको थियो ।

घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए ।

घटनालगत्तै बेहोस भएका उनीहरूलाई ओखलढुंगा अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर मोहम्मद रइन घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति:December 27, 2021