माओवादी पदाधिकारी १५ सदस्यीय

  Sampatti News

December 27, 2021

माओवादी पदाधिकारी १५ सदस्यीय

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिनुभयो ।

यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।

सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।

माओवादी पदाधिकारी १५ सदस्यीय हुने

प्रकाशित मिति:December 27, 2021