अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

  Sampatti News

December 28, 2021

अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

काठमाडौँ-पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले व्यक्तिको निरंकुशताको खतरा रहेको बताएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी(जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् ।

उनले भने “वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारियो, तर अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको छ अब यसका विरुद्ध संघर्षको खाँचो छ ।”

व्यक्तिको निरंकुशता विचार र पार्टीको भ-याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उनले भने, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’

उनले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताए ।

आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताए ।

उनले भने, ‘त्यसमा पनि चार जना त हराए, अहिले तीन जनामात्र छौं– म, झलनाथ खनाल र मुकुन्द न्यौपाने ।

संगठनमा मानिसलाई गोलबद्ध बनाउँदा बनाउँदा विशाल पार्टी बनायौं ।’

यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको उनको भनाइ छ ।

आफूहरुसँग विचार रहेको भन्दै उनले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गरे ।

नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत देखाइसकेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन ।’

अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

प्रकाशित मिति:December 28, 2021