सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

  Sampatti News

December 28, 2021

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।

ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै आज दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आइतबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो ।

ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए ।

त्यसलगत्तै महतोको ज्यान गएको थियो ।

सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो ।

आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदर्शनस्थालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

प्रकाशित मिति:December 28, 2021