राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

  Sampatti News

January 6, 2022

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

काठमाडौँ-सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ ।

सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल भएको छ ।

गठबन्धनका तर्फबाट प्रचार र व्यवस्थापनका लागि सातै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो ।

सो निर्वाचनमा गठबन्धनले यसअघि नै साझा उम्मेदवारी तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गरिसकेको छ ।

यसैगरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा छलफल भएको थियो ।

गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई अनुकूल भएमा नेपालको राष्ट्रियता, जनसरोकारलगायत विषयमा भारतसँग कुरा राख्न सुझाव दिनका साथै र भ्रमण सफलताको शुभकामना दिनुभएको उहाँले बताउनुभयो ।

बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको अवस्थाबारेसमेत कुरा भएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा ।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव भुसाल ।

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

प्रकाशित मिति:January 6, 2022