गठबन्धनका शीर्ष नेताको बालुवाटारमा बैठक

  Sampatti News

January 7, 2022

गठबन्धनका शीर्ष नेताको बालुवाटारमा बैठक

काठमाडौँ-सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा सरकार सञ्चालनमा परेका समस्याका साथै आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल भइरहेको बताइएको छ ।

समितिको बिहीबार बसेको बैठकमा नेता रामचन्द्र पौडेलले संसदको अवरोध हटाउने, अदालतको समस्यामा समाधान खोज्नुपर्ने लगायतका १६ बुँदे सुझाव पेश गरेका थिए ।

सोही सुझावमाथि आज छलफल सुरु भएको नेताहरुले बताएका छन् ।

त्यस्तै पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद अवरोध खुलाउने विषयमा छलफल गरेका थिए ।

सो कुराको जानकारी समेत समितिको बैठकमा छलफल भएको थियो ।

पौडेलले ओलीसँगको छलफलबारे बालुवाटारमा पनि बिहीबार ब्रिफिङ गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले ओली बालुवाटार नआए आफै भेट्न बालकोट जान समेत तयार रहेको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।

गठबन्धनका शीर्ष नेताको बालुवाटारमा बैठक

प्रकाशित मिति:January 7, 2022