समयमा नसकिने भयो हुलाकी राजमार्ग

  Sampatti News

January 28, 2022

समयमा नसकिने भयो हुलाकी राजमार्ग

काठमाडौँ-राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ ।

निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखाङ्कन नै टुङ्गो लाग्न सकेको छैन भने झन्डै ७० ओटा पुलको डिजाइन हुन पनि बाँकी नै छ ।

वन क्षेत्रबाट रेखाङ्कन हुने गरी डिजाइन भए पनि त्यस क्षेत्रमा जग्गा प्राप्त गर्ने अवस्था नभएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

झन्डै १२५ किमी निकुञ्ज क्षेत्रमा पर्ने र निर्माणका लागि पटकपटक प्रयास गरे पनि अनुमति नपाइएको निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पटकपटक छलफल भए पनि निर्माणस्थल नपाउने देखिएको छ ।

उहाँले भन्नुभयो, “त्यसको विकल्पका बारेमा निर्णय माथिबाट नै हुनुपर्छ ।”

विगतका वर्षहरुमा कोभिडका कारणले पनि निर्माणमा ढिलाइ भएको निर्देशनालयले जनाएको छ ।

आयोजनाको समय सकिएपछि झन्डै दुई वर्ष थप आवश्यक पर्नसक्ने उहाँले बताउनुभयो ।

वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रुपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटकपटक अनुमति मागे पनि पाएको थिएन ।

चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ ।

विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ ।

त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहमति चाहिन्छ ।

साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा एक सय पुल मात्रै सम्पन्न

आयोजनाअन्तर्गत झन्डै साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा झन्डै ७० पुलको डिजाइन बाँकी छ ।

अहिलेसम्म झन्डै एक सय पुल मात्रै सम्पन्न भएको छ ।

ती ७० पुलमध्ये अहिले धेरै डिजाइन स्वीकृत हुने क्रममा रहेको प्रमुख झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नारायणी, बाग्मतीलगायत ठूला र कतिपय साना खोलामा डिजाइनमा जान बाँकी छ ।”

रेखाङ्कनमा समस्या भएको बाहेकको खण्डमा सडक सम्पन्न भए पनि पुल अबको डेढ वर्षमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ ।

नेपालमा पुल निर्माणका लागि कम्तीमा दुईदेखि साढे दुई वर्षसम्म लाग्ने गरेको छ ।

सडकतर्फ, अहिलेसम्म झन्डै आठ सय किमीमा कालोपत्र सकियो भने झन्डै एक हजार किमीमा कालोपत्र बाँकी छ ।

उहाँले भन्नुभयो, “सडक निर्माणका लागि अधिकांश ठाउँमा ठेक्का भयो, केही खण्डमा मात्र बाँकी छ ।”

चालु आवमा अहिलेसम्म वित्तीय प्रगति झन्डै ४० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको छ ।

बीस प्रतिशत काम सकिएको बिल पेस गर्न बाँकी छ ।

चालु् आवमा डेढ सय किमी सडक र १५ पुल सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

अहिलेसम्म ६० किमी सडक र नौ पुल सम्पन्न भइसकेको छ ।

माग भएभन्दा कम बजेट

कोभिडका कारण विगतका वर्षहरुमा निर्माणमा बाधा पुगेको भए पनि अहिले सङ्क्रमणले निर्माणमा समस्या छैन ।

चालु आवमा माग भएभन्दा कम बजेट छुट्याइएको छ ।

उहाँले भन्नुभयो, “त्यसैले गर्दा पनि लक्ष्यभन्दा बढी काम हुनसक्छ ।

यो आवमा आयोजनामा रु छ अर्ब २० करोड छुट्याइएको तथा पुस सम्ममा सवा दुई अर्ब खर्च भइसकेको छ ।

जम्मा रु ६५ अर्ब बजेट रहेकामा अहिलेसम्म ५१ अर्ब खर्च भइसकेको छ ।”

विगतका वर्षहरुमा आयोजनाका पुलमा धेरै समस्या भए पनि अहिले समाधान भइरहेको प्रमुख झाले बताउनुभयो ।

कमला नदीमा सिरहा र धनुषा जोड्ने पुल सम्पन्न नहुँदै भाँचिएको थियो भने बाग्मती पुल पनि मुद्दामा थियो ।

अहिले त्यसमा नयाँ ठेक्काबाट काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकी रहेका पुराना ठेक्कामा पनि काम भइरहेको छ ।”

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो ।

पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो ।

विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो ।

विभिन्न कारणले त्यो स्वरुपमा काम हुन सकेन ।

भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो ।

आयोजनाअन्तर्गत नै ८८१ किमी लम्बाइको ‘फिडर सडक’ को निर्माण भइरहेको छ ।

यसमध्ये २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो ।

भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणका क्रममा रहेका छन् ।

तराई–मधेसको समृद्धि हुलाकी राजमार्ग

तराई–मधेसको समृद्धिसँग जोडेर हुलाकी राजमार्गलाई सुरु गरिएको हो ।

मधेसमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

त्यस क्षेत्रको ब्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ ।

राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ ।

राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई–मधेश पूर्ण रुपमा सुगम हुने अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ ।

सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ ।

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुबै दुईदुई लेनमा निर्माण अघि बढाइएको छ ।

सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ ।

जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

समयमा नसकिने भयो हुलाकी राजमार्ग

प्रकाशित मिति:January 28, 2022