मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

  Sampatti News

February 3, 2022

मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

जनकपुर-कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।

यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएको थियाे।

विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ सङ्क्रमित थपिएका छन् ।

साथै मङ्गलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ , सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु सबै होमआइसोलेशनमा रहेको जनाइएको छ ।

महामारी सुरु भएपछि प्रदेशमा सङ्क्रमणबाट हालसम्म ४१ हजार १२२ सङ्क्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् ।

साथै एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

निर्देशनालयका अनुसार सङ्क्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२,

त्यस्तै रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।

सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू

सुरुमा सङ्क्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढेसँगै सङ्क्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् ।

वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताउनुभयो ।

गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो सङङ्ख्या बढेर करिब ५५ प्रतिशत पुगेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पूर्ण डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६७ , धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको सङ्ख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ ।

ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् ।

उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने सङ्ख्या बढी छ ।

निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् ।

खोपको प्रभावकारिता

“खोप लगाउने दर कम हुँदा सङ्क्रमण फैलिने दर बढेको थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भन्नुभयो ।

तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।”

अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो ।

तर स्वास्थ्य मापदण्ड पालना नगरेमा सङ्क्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ ।

सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ ।

“विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच सुरु गर्‍याै”, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भन्नुभयो, “

सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।”

जाँचका क्रममा सङ्क्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि सङ्क्रमणदर घटेको हुनसक्ने उहाँको भनाइ थियो ।

पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।

वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

प्रकाशित मिति:February 3, 2022