आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

  Sampatti News

February 11, 2022

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही-यहाँका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ ।

जिल्लाका २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थालेको भए पनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव रहेकाे छ ।

भवन निर्माणको विवादलगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

जिल्लाका केही स्थानीय निकायले आफ्नै भवन निर्माण गरेर सेवा सुरु गरिसकेका छन् भने केही स्थानीय निकायका भवन निर्माणाधीन अवस्थामा छन् ।

केही स्थानीय निकाय साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

जिल्लाका ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रम्हपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको छ ।

चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जग्गा विवादका कारण निर्माणाधीन भवनको काम रोकिएको बताउनुभयो ।

भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बताउनुभयो ।

लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन् ।

पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन् ।

सो कारण सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले वर्षेनी लाखौँ रकम भाडामै खर्च गर्नुपरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनुभयो ।

प्रकाशित मिति:February 11, 2022