सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

  Sampatti News

February 18, 2022

सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

काठमाडौँ-जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ ।

राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उहाँले बताउनुभयो ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ ।

विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ ।

एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ ।

जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।

सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

प्रकाशित मिति:February 18, 2022