‘निर्वाचनमा : सबै, सधैँ र सँगै’

  Sampatti News

February 18, 2022

काठमाडाैँ-आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं १ द्वारा आज विराटनगरमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन् ।

निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा: सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ ।

निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सहभागीले जोड दिए ।

मतदान केन्द्रका अधिकृतबाट कुनै लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्नेलगायत धारणा राखे ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको बताउनुभयोे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङमा सात लाख १० हजारको हाराहारीमा मतदाता रहेको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने बताउनुभयो ।

अघिल्लो निर्वाचनमा मोरङमा ७४ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

मोरङमा १२ दशमलव ३६ प्रतिशत मत बदर भएको उहाँले जानकारी दिनुुभयो ।

सत्र पालिका र १५९ वडा रहेको जिल्लामा अघिल्लो निर्वाचनमा चार हजार ३५१ उम्मेदवार चुनावी मैदानमा थिए भने निर्वाचित उम्मेदवारको सङ्ख्या ८२९ तथा चुनावमा भाग लिने राजनीतिक दलको सङ्ख्या २० रहेको थियो ।

प्रकाशित मिति:February 18, 2022