प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

  Sampatti News

February 23, 2022

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छ्ट्टै भेटवार्ता गर्नुभएको छ ।

संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न भेटवार्ता गर्नुभएको बताइएको छ ।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

भेटका अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ ।

सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

प्रकाशित मिति:February 23, 2022