आज प्रतिनिधि सभाको बैठक: एमसीसीबारे निर्णय हुने

  Sampatti News

February 24, 2022

काठमाडौँ-आज प्रतिनिधि सभाको बैठक बस्न लागेको छ ।

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।

आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टबारे निर्णय गर्ने बताईएको छ ।

संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ ।

सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।

एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।

साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल गरिरहेका छन् ।

प्रकाशित मिति:February 24, 2022