युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने रुसको चेतावनी

  Sampatti News

March 23, 2022

काठमाडौं-रुसीले युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने बताएका छन् ।

सीएनएन टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो ।

जवाफमा उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे परमाणुअस्त्र प्रयोग हुन सक्ने बताएका हुन् ।

त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको समेत उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको संज्ञा दिए ।

पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति:March 23, 2022