काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी

  Sampatti News

March 27, 2022

स्थानीय तह निर्वाचनका सन्दर्भमा काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी रहेको छ ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार पनि छलफलको क्रम जारी रहेको हो ।

आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् ।

शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए ।

सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।

अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ ।

महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’लाई पूर्णता दिइनेछ ।

प्रकाशित मिति:March 27, 2022