‘गफाडीहरूले कुरा मात्रै गर्ने हुन् आफूहरूले काम गरेर देखाउँछौँ’: अध्यक्ष नेपाल

  Sampatti News

April 10, 2022

‘गफाडीहरूले कुरा मात्रै गर्ने हुन् आफूहरूले काम गरेर देखाउँछौँ’: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गफ होइन काम गरेर देखाउने बताएका छन् ।

पार्टीको जनसभालाई काठमाडौँको भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गफाडीहरूले कुरा मात्रै गर्ने भन्दै आफूहरूले काम गरेर देखाउने बताएका हुन् ।

‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरूको कुनै काम छैन। हामी काम गरेर देखाउँछौँ। जनताको जीवनस्तरमा रुपान्तरण हुने गरी काम गर्ने पार्टी हौँ।’

केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘हामी कुरो एउटा काम अर्को होइन, जे भन्छौँ त्यो गरेर देखाउन चाहन्छौँ।’

ज्येष्ठ नागरिकलाई भत्ताको व्यवस्था मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरुआत गरेको, आफूहरूले जनताको समस्यालाई पहिचान गरेको र आफ्नो गाउँ आफैँ बनाऊँ अभियान सुरुआत गरेको बताए ।

नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनको निरन्तरता हामीले बोकेका छौँ ।

२००६ सालमा निर्माण गरिएको कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी नै हौँ ।

कम्युनिस्ट आन्दोलनलाई जोगाउने अभिभारा हाम्रो काँधमा छ ।’

नेपालका अनुसार एमाले व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हो ।

‘हामीले गठन गरेको पार्टी एमालेमा दक्षिणपन्थी अवसरवाद, त्यो पार्टीको नेतृत्व नै कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि त्यसमा रहिरहनुपर्ने कुनै अवस्था रहेन,’

उनले भने, ‘त्यसको एक/एक गतिविधि तपाईंहरूले नियालिरहनुभएको छ । त्यो पार्टी पार्टीका रूपमा रहेन। सानो गुटमा सीमित हुन पुगेको छ।’

कम्युनिस्ट पार्टीलाई निरन्तरता दिन नयाँ पार्टी निर्माण गरिएको उनले बताए ।

प्रकाशित मिति:April 10, 2022