महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो: केपी शर्मा ओली,प्रधानमन्त्री

  Sampatti News

April 8, 2020

काठमाडौँ । आज सिङ्गो मानवजाति कोभिड(१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । आजसम्ममा कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वा्धिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।


मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ ।


नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी उच्च जोखिममा छौं ।


बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।

सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्रा्ष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।
लकडाउनको यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । सोमबारसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्यालपिड डिटेक्सन टेस्ट(आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।
विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं ।
मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अगाडिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।

            प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा लकडाउनको पछिल्लोपटक गरेको सम्बोधनको अंश 

प्रकाशित मिति:April 8, 2020