सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ

  Sampatti News

April 11, 2022

काठमाडौँ-शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उहाँले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताउनुभएको हो ।

आज अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्ति प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोसुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई संरक्षण गरिरहेका छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।”

उहाँले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्नसक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताउनुभयो ।

हाल विद्यमान कानून र स्रोतसाधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा सरकारका पूर्वमुख्य सचिव एवं बागमती सफाइका मुख्य अभियन्ता लीलामणि पौड्यालले बागमती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन उहाँले सरकारसँग माग गर्नुभयो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको बागमती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको बताउनुभयो ।

प्रकाशित मिति:April 11, 2022