लकडाउनले आत्मनिर्भर बन्नुपर्ने सन्देश दिँदै , नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको उत्पादन थाल्योे, बिक्रि धमाधम सुरु

  Sampatti News

April 8, 2020

काठमाडौं । हरेक कुरामा परर्निभर भइरहेका नेपालीलाई समस्याको बीचमा मात्र आत्मनिर्भर हुने सपनाले छुने गर्छ । तर, सहजता आउनसाथ नानी देखिको बानी जस्तै बिर्सने गर्छौ । यसपटकको विश्व लकडाउनले तरङ्गीत अर्थ बजारको बिचमा नेपाल औषधि लिमिटेडले स्यानीटाइजर उत्पादन गरी आत्मानिर्भर बन्नुपर्ने समस्या पर्दा मात्र देखिने सपनालाई वास्तविक तुल्याएको छ ।

यसपटकको लकडाउनले यो संकटको घढीबिचमै नेपाल औषधि लिमिटेडले उत्पादन गरि स्यानिटाइजर बिक्री समेत सुरु गरि नेपालीहरुलाई खुसिको खबर दिन सफल भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको लिमिटेडले विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री सुरु गरेकाे जनाएको छ ।


उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरेको लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिएका छन् । बजारमा स्यानिटाइजर अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानिटाइजर बनाएको उनले बताए ।
विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधि लिमिटेडले उद्योग मन्त्रालय र औषधि व्यवस्था विभागसँग छलफल गरी उत्पादन थालेको हो । सोमबारदेखि सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको लिमिटेडले जनाएको छ । सय एमएलको बोत्तलको होलसेल मूल्य एक सय ५० रुपैयाँ र खुद्रा बिक्री मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ ।
लिमिटेडका अनुसार अब बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहे जति स्यानीटाइजर किन्न सक्ने छन् । बजारमा स्यानिटाइजरको अभाव हुन नदिने लक्ष्यका साथ दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको लिमिटेडको दाबी रहेको छ ।

प्रकाशित मिति:April 8, 2020