कुटनैतिक नियोगले प्रयोग गर्ने गाडीमा कालाबजारी गर्ने अग्रवालसँगै चौधरी ग्रुपको संलग्नता, चौधरी पक्राउ पर्लान त ?

  Sampatti News

April 8, 2020

काठकाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष तथा जगदम्बा र शंकर ग्रुपका संचालक सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन् ।


अग्रवाल कूटनीतिक नियोगका कर्मचारी वा राजदूतहरुले प्रयोग गर्ने निलो प्लेटको गाडीमा मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परेका हुन् ।


लक्ष्मणबाबु भवन नक्सालमा रहेको जगदम्बाको गोदाममा चीनको ग्वाङ्झाओबाट चैत २० गते विमान चार्टर गरी ल्याइएका मेडिकल उपकरण थर्मोगन, एन नाइन फाइभ मास्कहरु राखेर कालोबजारी गर्दैआएका सुलभ अग्रवाललाई प्रहरीले ग्राहक बनेरै पक्राउ गर्न सफल भएको थियो । पक्राउ गर्नगएको प्रहरीलाई उनले आफू किर्गिस्थानको अवैतनिक बाणिज्यदूत भन्दै तर्साएका थिए । तर प्रहरीले कन्सुलर भएर कालोबजारी गर्ने भन्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अग्रवालले थर्मोगनको १६ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका थिए भने मास्कको ७ सय रुपैयाँमा बिक्री गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले थर्मोगन खोजीका लागि जाँदा त्रिपुरेश्वरको एक सर्जिकलले २२ हजार रुपैयाँमा लिने भए ल्याइदिने भनेका थिए । अनेरास्ववियुका नेता समिक बडालले अग्रवालहरुले २२ हजार रुपैयाँमा थर्मोगन बिक्री गरी महामारीमा कमाउ धन्दा संचालन गरेको आरोप लगाएका छन् । महामारीमा कमाउधन्दा गर्ने सुलभ अग्रवाल र उनका भाइ साहिल अग्रवालका अलावा दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पनि उनले माग गरेका छन् ।


उनी पक्राउ पर्नुको एक दिन अगाडी सरकारलाई केही थान मेडिकल सामग्री हस्तान्तरण गरेपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले ट्वीटमा ‘नर्भिकले आज नेपाल सरकारलाई १०० सेट पीपीई हस्तान्तरण गरेपछि एक पत्रकार मित्रले प्रतिसेट कति पर्छ भनेर सोधे र म अलमलमा परें । खरिद मूल्य ३,३०० भनौं कि, भाडामात्रै १, ३२० पनि जोडी ४,६२० भनौं या बजारमा १५, ००० मा बिक्री भइरहेको मूल्य भनौं ।’ भनेर लेखेका थिए । तर, बसन्त चौधरीले यस्तो लेखेको २४ घन्टा नबित्दै मंगलबार अग्रवाल पक्राउ पर्नुलाई रहस्यमय ढङ्गले हेरिएको छ ।
मुलुकले यस्तो संकट र विपत्ति बेहोरीरहेको बेला कुटनैतिक नियोगले प्रयोग गर्ने गाडी प्रयोग गरी काला बजारी गर्ने अग्रवालको कनेक्सन चौधरी ग्रुपसँग देखिएको यो घटनालाई सरकारले गहिरोसँग छानबीन गरी कानुनको दायरामा नल्याए सर्वसाधरणबीच सरकारप्रतिको भरोशा गुम्दै जाने उपभोक्तावादी नेता प्रेमलाल महर्जन बताउँछन् ।

प्रकाशित मिति:April 8, 2020