संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू

  Sampatti News

April 15, 2022

काठमाडौँ-शुक्रबारबाट संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट उक्त प्रणालीको सुरुवात गरिएको हो ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् ।

श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने प्रणालीको शुभारम्भ कार्यक्रममा बताएका छन् ।

उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संस्थागत श्रम स्वीकृति (पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) का लागि अनलाइन प्रणाली लागू गरिएको हो ।

मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरूलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई संस्थागत गर्दा यस्तो अवस्था आएको दाबी गरे ।

वैदेशिक रोजगार कार्यालयहरूले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको काममा ढिलासुस्ति र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरूलाई निर्देशन दिए ।

अब सरकारले वैदेशिक रोजगारीसम्बन्धी सबै कामहरू अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताए ।

प्रकाशित मिति:April 15, 2022