एकिकृत प्रगतिशिल इन्जिनियर समुहद्वारा लोकसेवा आयोगलाई ज्ञापनपत्र

  Sampatti News

April 15, 2022

एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीसँग भेटे गरेको छ ।

प्रदेश लोकसेवा आयोग बागमतीको कार्यप्रति ध्यानाकर्षण गराउन एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्षसँग भेट गरेको हो ।

प्रदेश लोकसेवा आयोग बागमतीले इन्जिनियरहरुको पद नै घटाएर छैठौं तहको विज्ञापन निकालेको थियो ।

इन्जिनियरलाई छैठौं तहमा राखेर विज्ञापन गर्दा मुलुकभरका ६४ हजार इन्जिनियरहरुमाथि अन्याय भएको भन्दै यसलाई सच्याउन र संशोधन गर्न माग गर्दै समुहले ज्ञापनपत्र बुझाएको छ ।

समूहका संयोजक ई।सरोजकुमार उपाध्यायले अरु देशले पूर्वाधार, प्रविधिको बढ्दो प्रयोगका बीच इन्जिनियरहरुको महत्व बढेका बेला नेपालमा भने उनीहरुको मनोवल घटाएको बताए ।

मंगलबार समुहका प्रतिनिधिहरुले बागमती लोकसेवा आयोगका अधिकारीलाई भेटेर जानकारी गराएको उनले जनाए ।

निजामतीको नियमावली नबनेको अवस्थाले अप्ठ्यारो पारेको भए पनि लोकसेवा आयोगले वार्षिक प्रतिवेदनमा पनि तह उल्लेख गरिएको घिमिरेले बताएको उल्लेख गर्दै उपाध्यायले यो असमानता र विभेदकारी नियम खारेज गर्न माग गरिएको बताए ।

उनले यसको नीतिलाई हटाउनका लागि कानुनी निरुपणको बाटो अपनाउने जस्ता विषय उठान गरिएको बताए ।

सम्भव भएसम्म संवाद र वार्ताबाट नै समाधान खोज्न आग्रह गरिएको भन्दै उनले नभएमा ६४ हजार इन्जिनियरहरुले भद्र आन्दोलन गर्ने बताए ।

मन्त्रिपरिषद् वा लोकसेवा आयोगबाट यसको समाधान खोज्नु पर्नेमा माग गरिएको उनले बताए ।

अहिले कोरोना कहरका बीचमा भौतिक उपस्थीतिमा आन्दोलन गर्न असमर्थ रहेको भन्दै उनले कानुनी रुपमै यसको समाधान हुनुपर्ने माग राखिएको जानकारी दिए ।

बागमती प्रदेश लोकसेवा आयोगले प्राविधिकतर्फ भन्दै माघ १० गते इन्जिनियरिङ समूहतर्फ विज्ञापन निकालेको र त्यसमा इन्जिनियरहरुलाई छैठौं तहमा राखेर विज्ञापन खुलाइएको भन्दै इन्जिनियरका विभिन्न समूहले आपत्ति जनाउँदै उक्त विज्ञापनलाई सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति:April 15, 2022