ट्राफिकमा राष्ट्रिय गानः कोरोना भाईरस विरूद्ध लड्न सबैलाई आव्हान

  Sampatti News

April 13, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरिएको आव्हान अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूबाट आज बिहान आठ बजे राष्ट्रिय गान गाईएको छ ।


ट्राफिक कार्यालयका आ—आफ्नो ब्यारेकको झ्याल ढोका वा कौसी, प्राङ्गणबाट कोरोना भाईरस विरूद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, अति आवश्यक प्रदायकका कर्मचारी, सुरक्षा कर्मी तथा ट्राफिक प्रहरी लगायतको सम्मानमा हात हातमा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाईएको र गुन्जाईएको हो ।


राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली समेत बजाईएका छन् ।
“राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्त स्वरुप हो ।

ट्राफिक प्रहरी पनि यस्तो विषम परिस्थितिमा फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ र यसले देशप्रति समर्पित हुन र जनताको सेवामा काम गर्न थप उर्जा मिलेको छ ।” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।

प्रकाशित मिति:April 13, 2020