माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

  Sampatti News

May 16, 2022

काठमाडौं – जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनुभएको छ ।

एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाउनुभयो ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी हुनुभएको थियो । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने हुनुभएको हो । यसपटक भने राईले विजय हासिल गर्नुभयो ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुनुहुन्छ ।

त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेम्वाङले तीन हजार ७२९ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाउनुभयो ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थियो । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी हुनुभएको थियो ।

माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा आठ हजार ३०७ मत खसेको थियो ।

प्रकाशित मिति:May 16, 2022