यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  Sampatti News Online

June 17, 2022

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ परेका हुन् । केही समय अगाडी पनि आफ्नै विधालयकी छात्रालाइ दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमै शिक्षक पक्राउ परेका थिए ।

तर यो घटना भने गुल्मीको हो । गुल्मी प्रहरीले आफ्नै विधालयमा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ ।

पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ ।

कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, घटना १५ दिन पहिलेको हो । तर पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको हो ।

‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने ।

खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए ।

प्रकाशित मिति:June 17, 2022