प्रधानमन्त्री देउवा चढेको हेलिकोप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण

  Sampatti News Online

June 17, 2022

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौँबाट धनगढी उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।

हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानलगायतले भेटघाट गरेका थिए ।

करिब २० मिनेटको भैरहवा बसाइपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

प्रकाशित मिति:June 17, 2022