किन बोलाए शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक

  Sampatti News Online

June 30, 2022

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूको बैठक बोलाएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गर्न कोइरालाले आफु पक्षका नेताहरुको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व दोहोराएर सम्हालेको फेरी ६ महिना पुग्दा समेत पार्टी गतिविधि फेरि पनि अस्तब्यस्त बन्दै जान थालेको, विधान अनुसार गठन गर्नुपर्ने विभागहरु गठन हुन नसकेको र भातृ सस्थाहरुको हालत पनि भद्रगोलमै रहेकोले पार्टीको आन्तरिक गतिविधि र सरकारका कामकारबाहीका विषयमा पनि छलफल गर्नका लागि कोइरालाले आफु पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन् । गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो । विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन् । कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो । सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन् ।

यस्तै, केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन् । सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए । त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ ।
साथै बैठकमा आगामी संघ र प्रदेश चुनावमा देउवाले गठबन्धन दलहरुलाई दिन सक्ने स्पेशका विषयमा पनि छलफल हुने बताईएको छ ।

प्रकाशित मिति:June 30, 2022