आकस्मिक डाकियो मन्त्रिपरिषद् बैठक, अध्यादेशबारे छलफल

  Sampatti News

April 24, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दल विभाजनसम्बन्धी अध्यादेशको छलफल र निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।


केही दिन अघि ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको पार्टी भित्र र बाहिर चर्को आलोचना आएपछि सो बारे निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।


त्यसैबारे छलफलका लागि प्रधानमन्त्री ओलीले अहिले ११ बजे बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । यद्यपि बैठकका एजेन्डाबारे कसैलाई केही बताइएको छैन ।

दल विभाजनसम्बन्धी अध्यादेशका कारण समाजवादी पार्टी र राजपाबीच एकता भएको छ भने सत्तारुढ नेकपामा विवाद चुलिएको छ ।


यसअघि पार्टीका अन्य शीर्षस्थ नेताहरू महासचिव विष्णु पौडेल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमको भेलाले शुक्रबार दिनभरिमा अध्यादेश खारेज नभए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेका छन् ।


स्थायी कमिटीमा पनि अध्यादेशको विपक्षमा बहुमत सदस्य उभिएको गणित राजनीतिक विश्लेषकहरू बताउँछन् । त्यस्तै आजको बैठकमा लकडाउनबारे पनि निर्णय गर्ने तयारी भएको छ ।

प्रकाशित मिति:April 24, 2020