दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

  Sampatti News

April 24, 2020

काठमाडौं । केही दिन अघि ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश चौतर्फी विरोध भएपछि सरकारले अध्यादेश फिर्ता लिएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे आकस्मिक मन्त्रीपरिषद् बैठक आह्वान गरेका थिए । बैठकबाट दुवै (राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ) अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

तर, पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको भन्दै सरकार विवादमा परेको थियो ।

प्रकाशित मिति:April 24, 2020