निचोड निकाल्नेतिर केन्द्रीत जनार्दनसँगै अब बयान सुरु

  Sampatti News Online

July 18, 2022


काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई तिनै ब्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी प्रतिपक्षी एमालेले आरोप लगाएपछि २२ असारमा प्रतिनिधिसभाले छानविनका लागि विशेष समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ गरेको १० दिन भित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए ।

समितिले गत मंगलबारबाट मात्रै कार्यप्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थमन्त्रालयका बिभिन्न तहका कर्मचारीहरुसँग छलफल गरेको छ ।

छानविन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन् ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार, आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ भयो । आइतबार नै सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो ।

उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ भएको थियो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग छलफल गरिएको हो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो ।

राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सकाएको हो । छानबिन गर्न गठित संसदीय विषेश समितिले अहिलेसम्म कुनै ‘क्लु’ भने फेला पार्न सकेको छैन। अहिलेसम्म बयान लिएका अर्थका कर्मचारीहरुले करको दर र दायरा हेरफेर गरेको कुरा पनि अस्वीकार गरेका छन् ।

‘सबैको एउटै भनाइ छ, करको दर हेरफेर भएको छ तर कसैले भनेर होइन,’ उनीहरूको बयान उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘चाहिने र आवश्यक कुराबाहेक तलमाथि गरिएको छैन।’

अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ । यसका लागि सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । समिति सदस्यहरुका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ ।

प्रकाशित मिति:July 18, 2022