राष्ट्र बैङ्क गभर्नरको राजीनामा माग्दै

  Sampatti News Online

July 20, 2022

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट भएका विद्यार्थीहरूले आज पनी बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालयको अगाडि कालो ब्यानर टाँगेका छन् ।

यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते पनी भएका थिए ।
गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था सङ्कटपूर्ण अवस्थामा पुगेका हुन्, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै काँग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनहरूले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै गभर्नर बर्खास्तीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गर्ने र साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाब दिने निर्णय उनीहरूले गरेका छन् ।

प्रकाशित मिति:July 20, 2022