सेञ्चुरी बैंकमा ग्राहकको पैसा असुरक्षित

  Sampatti News Online

July 20, 2022


साउन ४, काठमाडौँ । सेञ्चुरी कर्मसियल बैंकमा बचत गरेको रकम चोरी भएको छ । ताप्चेत दुधपोखरी वडा ७ दोलखा जिल्ला नागरिकता भएको हरिमाया तामाङले ७३० दिनको निक्षेप अवधी राखेर खातामा जम्मा गरेको रु. ६ लाख रकमबाट रु. ५ लाख ४० हजार चोरी भएको छ ।

विहे गरी चितवान पुगेकी हरिमायाले आफ्नो घरमा भएको जयाजेथा बिक्रि गरी बचत गरेको रकम चोरी भएको थाहा भएपछि बैंकमा रकम असुलउपरको लागि निवेदन दिएकी छिन् । बौद्ध टुसाल स्थित सेञ्चुरी कर्मसियल बैंकको शाखामा मिति २०७७ पुस ५ अर्थात् २० डिसेम्बर २०२० मा रु. ६ लाख रकम राखेकी थिईन् । तर मुद्धती खाताबाट पटक–पटक गरी आफ्नो अनुपस्तिथिमा रु. ५ लाख ४० हजार रकम झिकिएको बचतकर्ता हरिमाया तामाङले बताईन् ।

आफ्नो मेहनतले जम्मा गरेको पैसा बैंकबाट हराएको थाहा पाएपछि बैंकमा पुगेर सोधबुझ गर्दा पहिल्यै खाताबाट पैसा झिकिएको जानकारी गराएको पीडित तामाङले प्रारम्भ खबरलाई बताईन् । मिति २०७९ जेठ २७ गते बैंकमा निवदेन पेस गर्दा अन्य व्यक्तिबाट मिति २०७८ फागुन २५ गते (पहिलो पटक) रु. ३ लाख, मिति २०७९ बैशाख ४ गते (दोस्रो पटक) रु. १ लाख ८० हजार र मिति २०७९ बैशाख १४ गते (तेस्रो पटक) रु. ६० हजार गरी जम्माजम्मी रु.५ लाख ४० हजार दोलखा चरिकोटमा रहेको सेञ्चुरी बौंक शाखाबाट झिकिएको खुल्न आएको छ ।

पटक–पटक यसरी गैरव्यक्तिले बैंकबाट पैसा झिक्दा पनि बैंकले कुनै सोधपुछ नगरी सजिलै पैसा दिनु सेञ्चुरी बैंकको कमजोरी हो । बैंकको नियमानुसार ५० हजार भन्दा माथी रकम निकाल्दा व्यक्तिको परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था रहेको छ । तर बचतकर्ता नै म हुँ भनि अन्य व्यक्तिले पीडित हरिमायाको कागजात चोरी गरी रकम निकालेको खुल्न आएको छ । हराएको आफ्नो रकम फिर्ताको लागि बैंकमा पटक–पटक धाएपनि बैंकले कुनै चासो नलिएको उनले बताईन् । बैंकले चोरी गर्ने व्यक्ति पत्ता लागिसकेको भन्दै मुद्ध प्रक्रियामा गएको सुनाउँदै पीडितलाई अलमलाईरहेको छ । चोरी भएको सेञ्चुरी बैंक दोलखा चरिकोट शाखाका प्रम्ख कुवेर सापकोटासंग बुझ्दा जहाँबाट खाता खोलेको त्यहीबाट निवदेन दिने र सम्पूर्ण कामकारवही हुने बताए ।

त्यस्तै बौद्ध टुसाल शाखाका प्रमुख रवि पन्थले पनि उक्त विषय मुद्ध प्रक्रियामा गईसकेको भन्दै केन्द्रीय कार्यालयबाटै कामकारवाही हुने गैरजिम्मेवारी जावाफ दिए । पन्थले पीडितलाई पटक–पटक बोलाएर भाका दिने तर रकम फिर्ता नगरेपछि मिडियाको साथ खोजेको पीडितले सुनाईन् । औठा छाप र शारिरिक रुपमा अपाङगता भएका व्यक्तिको पैसा चोरी हुँदा बैंकको लापरवाहीका कारण बचतकर्ताले दुःख पाएको छ । साथै बैंकप्रति विश्वासनीयता पनि घटेको छ ।

प्रकाशित मिति:July 20, 2022