एनआइसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

  Sampatti News Online

July 21, 2022


एनआइसी एशिया बैंक आज (बिहीबार)देखि २५ औं वर्षमा प्रवेश गरेको छ। बैंकले यसै अवसरमा रजत जयन्ती मनाउन गइरहेका छन्।

बैंकले २५ वर्षको यात्रामा सेयर धनीको हितलाई केन्द्रमा राखी आर्थिक वर्ष २०५६/५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयर धनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको बताएको छ। जसको प्रतिफल आजको बजार मूल्यमा ९ हजार ५२० रुपैयाँ ९७ पैसा बराबर प्रदान गरेको बैंकको भनाइ छ।

त्यसैगरी,बैंकले आफ्नो स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको छ। साथै, बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

उक्त वित्तीय विवरण अनुसार बैंकले २०७८/७९ मा खुद मुनाफातर्फ ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ। जुन वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशत वृद्धि हो।

यसैगरी, बैंकको स्वः पुँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले दाबी गरेको छ।
बैंकले प्रति सेयर आम्दानीतर्फ ३९ रुपैयाँ १३ पैसा आर्जन गर्न बैंक सफल भएको छ। कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

त्यसैगरी, बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

यही त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेको छ।

बैंकले हाल मुलुकभर रहेको आफ्नो ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति:July 21, 2022