खोटाङमा ६ म्याग्निट्युडको भूकम्प

  Sampatti News Online

July 31, 2022


१५ साउन, काठमाडौं । खोटाङमा आइतबार बिहान ८ :१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिक-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएका छन् । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।
प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण अहिले सम्म आइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति भएको नपाइएको बताइन् ।

प्रकाशित मिति:July 31, 2022