नेकपा एकिकृत समाजवादीले ४० सिटको दावी

  Sampatti News Online

August 9, 2022

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेका छन् । नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे सरकारलाई जानकारी गराउने उदेश्यका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका खनालले त्यही मौकामा केही वेर आगामी चुनावको सिट बाँडफाँटका विषयमा पनि कुरा कानी गरे ।

गठबन्धनमा रहेका दलहरुका वीच सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीसँग कोही कसैको अपमान हुने गरी वाँडफाँट नहोस भन्न भ्याए । ‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ ।

२०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ,’ प्रधानमन्त्रीसँग भेटरे बाहिरिएपछि खनालले तालमेलका बारेमा पनि कुरा भएको भन्दै सञ्चारकर्मीहरुसँग भने ।

सत्ता गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठबन्धन दलहरुको ११ सदस्यीय सिट बाँडफाँटको नीतिगत मापदण्ड बनाउने कार्यदल बनेको छ । कार्यदलको पहिलो बैठक सोमबार बालुवाटारमा बसेर अर्को बैठक आगामी विहिबार साउन २६ मा बस्ने गरी तय भएको छ ।
यस्तो बेला सत्ता गठबन्धन मध्ये नेकपा एकिकृत समाजवादीले ४० सिटको दावी गरेको छ । एमालेबाट विभाजित भएको सो पार्टीले देशव्यापी आफ्नो संगठन रहेको भन्दै ४० सीट दावी गर्ने भएको हो । ‘हाम्रो प्रारम्भिक छलफलमा ४० सीटको दावी रहन्छ त्यसमा केही तलमाथि हुन्छ’, नेकपा एकीकृत समाजवादीका एक सचिवालय सदस्यले मेरोन्यूजसँग भने ।
उनका अनुसार सोमबार गठबन्धनको बैठकमा मुखै खोलेर भने कुनै पनि दलले यस विषयमा कुनै दावी पेश गरेनन । तर एकीकृत समाजवादीका महासचिव समेत रहेका कार्यदलका सदस्य बेदुराम भुसालले भने आवश्यक परे आफनो दलले दावी नै प्रस्तुत गर्ने भनेर सूची नै तयार पारेर बैठकमा गएका थिए । जसमा कुन जिल्ला र क्षेत्र समेत उल्लेख रहेको थियो ।

स्रोतका अनुसार एस पार्टीले शुरुमा ४० सीट दावी गर्ने र लचिलो हुनुपर्ने भए २५ सीट भन्दा तल नझर्ने रणनीति बनाएर भुसाललाई प्रस्तुत हुन निर्देशन गरेको छ । त्यही सूची अहिले बेदुरामको खल्तीमा रहेको एकीकृत समाजवादीका ति नेताले बताए ।

‘२५ सीट भन्दा तल झर्नुपर्ने अवस्था आएमा एक्ला एक्लै चुनाव लड्ने परिस्थिति बन्नेछ’, एस पार्टीका ती नेताको भनाई छ ।

सोमबार बसेको सत्ता गठबन्धन दलको सीट बाँडफाँटका लागि बनाएको कार्यदलको पहिलो बैठकले यसबारेमा कुनै निर्णय गरेको छैन । बैठकमा कुनै पनि दलले आफ्नो कार्ड नखोली संयोजकमात्रै तोकेर बाहिरिएका थिए ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको थियो । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले कसरी जाँदा ठीक होला, के आधारमा, कुन मापदण्डमा जाँदा ठीक होला भनेर छलफल गरेको बताए ।

बैठकमा माओवादी नेता एवं कार्यदलका सदस्य वर्षमान पुनले भने २०७४ मा एमाले र माओवादीबीच सिट बाँडफाँटको अनुभव सुनाएका थिए । ११ सदस्यीय कार्यललमा कांग्रेसका तीन सदस्य छन् भने अरु दलका २(२ जना छन् । कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे सहमति जुटाएर प्रतिवेदन बुझाउन भनिएको छ । अर्को बैठकअघि दलहरुबीच द्विपक्षीय तथा बहुपक्षीय छलफल पनि हुन सक्ने नेताहरुले बताएका छन् । एस पार्टीले काठमाडौको २ सीट दावी गर्ने तयारी गरेको छ ।

माधव नेपाल रौतहटबाट चुनाव लड्ने भएपछि काठमाडौंको २ मध्येको एउटा क्षेत्रनम्बर २ मा भने रामकुमारी झाँक्रीलाई चुनाव लडाउने गरी पनि एकीकृत समाजवादीले आन्तरिक तयारी थालेको छ । नेकपा एसले रौतहट, उदयपुर, मकवानपुर, पाल्पा, धादिङ, कैलाली, अछाम, दाङ, डोटी, रुपन्देही का निर्वाचन क्षेत्रमा दावी गर्ने तयारी गरेको छ । त्यसैगरी डोल्पा, मुगुमा पनि दावी गरेको स्रोतको दावी छ ।

गठबन्धनको मुख्य दल कांग्रेसले आफुलाई एक सय देखि ९५ सिट आफनो पार्टीमा राख्न चाहेको छ । वाँकीमा मात्र गठबन्धनमा रहेका अन्य दललाई दिन कांग्रेस तयार जस्तो देखिएको छ । तर अर्को मुख्य घटक दल माओवादीले कांग्रेसलाई ७०, माओवादीलाई ६०, एकीकृत समाजवादीलाइ १८, जनता समाजवादीलाई १६ र राष्टिय जनमोर्चालाई एक सिट दिने गरी भागवन्डा लगाउनु पर्ने बताएको छ ।

तर यसैमा दलहरुको रस्साकस्सी चल्ने र सिट बाँडफाँट सकस हुने देखिईरहेका बेला एकीकृत समाजवादीले ४० सिट दावी गरेर कांग्रेस र माओवादीलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । यसले पनि गठबन्धन दलभित्र सिट बाँडफाँट निक्कै पेचिलो बन्ने देखिएको छ ।

प्रकाशित मिति:August 9, 2022