मलले साथ दियो न पानीले

  Sampatti News Online

August 19, 2022

३ भदौ, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका– १४ पन्दनपुरका कृषक गंगा कुँवरलाई यो वर्ष न मलले साथ दियो न पानीले । उनी असारमा धानको बीउ राख्ने तयारीमा थिए तर मल पाएनन् ।

जेनतेन बीउको जोहो गरेर भएपनि रोपाइँ गर्ने तयारी थिए । तर उनलाई पानीले पनि साथ दिएन । यही कारण यो वर्ष उनको खेत बाझै रहेको छ । अघिल्लो वर्षहरूमा साउनको महिनामा उनको खेतको रोपाइ सकिसकेका हुन्थे । भदौको महिना लागिसक्दा खेतमा धानले बाला लागेका हुन्थे । तर, यसवर्ष पानी नपरेपछि उनले धान रोप्न पाएनन् ।
धानका बाला फुल्ने उनका खेत अहिले बाख्रा चराउने क्षेत्र भएका छन् । ‘पानी नपरेपछि रोपाइ भएन,’ उनले भने, ‘यो वर्ष मौसम र मल दुवैले ठग्यो ।’ त्यही ठाउँका गिरराज गिरी पनि पानी नपरेपछि चिन्तित छन् ।

उनले पनि पानी नपरेकाले समयमै रोपाइ गर्न सकेनन् । जेनेतन कुलो र बोरिङको पानीले भएपनि रोपाइ त गरे । तर खेतीका लागि प्रयाप्त पानी नपरेपछि लगाएको धानसमेत सुक्दै गएका छन् । ‘पानी पर्दैन, खेत पटपटी फुटेर चिरा पर्न थाल्यो,’ उनले भने ‘सिंचाइ पुगेन भने धान फल्दैन । धान नफले के खाने ?
त्यस्तै तुलसीपुरकै सीता केसीको पीडा पनि उस्तै छ । आफ्नो खेत नभएपछि उनले लिजमा लिएर धान खेती गर्ने तयारी गरेकी थिइन् । आकाशे पानीको भरमा धानको बीउ पनि राखिन् । तर खेतीका लागि प्रयाप्त पानी नपरेपछि उनले धान रोप्न सकेकी छैनन् । ‘धानको बीउ खेतमै छ,’ उनले भनिन्, ‘धान रोप्न नसकेपछि बीउ पनि पहेलो भइसक्यो ।

दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा पर्न थालेका छन् ।

धान रोपाइँ गर्न रासायनिक मलको अभाव भोगेका किसानलाई यसपटक मौसमले समेत साथ दिएको छैन । यो वर्ष धान खेतीका लागि पानी नपरेपछि जिल्लाका केही ठाउँमा अझै रोपाई हुन सकेको छैन ।

दाङमा कृषि ज्ञान केन्द्र दाङले अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेतहरु बाझै भएको बताउँछ । दाङको देउखुरी क्षेत्रमा धान रोपाइ भए पनि घोराहीदेखि पश्चिम बबई गाउँपालिकासम्मका कृषकहरुले धान रोपाइ गर्न नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोज कुमार सिंहले बताए ।

‘असार महिनामा मुस्किलले थोरै पानी पर्‍यो । थोरै पानीको भरमै किसानले जसोतसो धान रोपाइँ गरे, तर धानलाई चाहिने पानी अझै पर्न सकेको छैन ।’ उनले भने ।

भदौ महिना सुरू भए पनि पानी नपर्दा किसानले रोपेको धानको गह्रा चिरा परेका छन् । ‘सिंचाइँ सुविधा पुगेको ठाउँमा मात्रै रोपाइँ भएको छ । जहाँ सिंचाई सुविधा छैन त्यहाँ धान रोपाइँ हुन सकेको छैन’ उनले भने, ‘पानी परेन भने त धान रोपाइँ नहुने अवस्था भयो ।’

उनका अनुसार यो वर्ष ८५ प्रतिशतमात्र धान खेती भएको भने बाँकी १५ प्रतिशत खेतमा बाँझै छ । सूचना अधिकारी सिंहले पानी नपरेकाले बाझो रहेका खेतमा अब हुन नसक्ने बताए ।

जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । १९ हजार छ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिंचाइँ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिंचाइँको व्यवस्था छ ।

सिंचाई सुविधा नपुगेका स्थानमा भूमिगत पानीमार्फत पनि सिंचाई सुविधा पुर्‍याउन किसानहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

दाङमा यस वर्ष ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा रोपाइ गरिने प्रक्षपण थियो। मौसम प्रतिकुलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाई नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति:August 19, 2022