१० दिनपछि नागरिकता विधेयक राष्ट्रिय सभामा

  Sampatti News Online

August 28, 2022

१२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा जानकारी गराइँदै छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । २ भदौमै प्रतिनिधिसभाल पारित गरेको विधेयकबारे १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी गराउन लागिएको हो ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल हुनेछ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन सक्छ ।

विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।

प्रकाशित मिति:August 28, 2022