ओलीलाई गठबन्धनकाे तर्फबाट चुनौती दिँदै मोहन घिमिरे

  Sampatti News Online

September 9, 2022

काठमाडौं । आम निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव हराउने उम्मेदवारको खोजीमा सत्तारुढ गठबन्धन लागेका छन् । स्थानीय प्रभावशाली व्यक्तिलाई उठाउन गठबन्धनमा छलफल हुन थालेका छन् ।
ओलीलाई हराउन सक्ने सर्वसम्मत उम्मेदवारमा पछिल्लो समय मोहन घिमिरेमाथि छलफल सुरु भएको छ । नेकपा (एकीकृत समाजवाद) निकट निजामती कर्मचारीहरुको संगठन एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष रहेका घिमिरेलाई सरकारी सेवाबाट राजीनामा दिन लगाएर ओलीविरुद्ध उठाउनेबारे कांग्रेस, माओवादी र समाजवादीका नेताहरुबीच छलफल भइरहेको स्रोत जनाउँछ । घिमिरे झापा–क्षेत्र नम्बर ५ कै छन् । लोकप्रिय कर्मचारी नेता घिमिरेको जिल्लामा राम्रो पकड छ ।
यसअघि उनी एमाले निकट कर्मचारी संगठनको अध्यक्ष समेत भएका थिए । एमाले विभाजनपछि समाजवादीतर्फ लागेका उनी पर्यटन मन्त्रालयमा अधिकृतका रुपमा कार्यरत छन् । उनको नाम एकीकृत समाजवादीले झापा–५ बाट सिफारिस गरिसकेको छ । ‘गठबन्धनले सर्वसम्मत रुपमा निर्णय गरेमा म राजीनामा दिएर चुनाव लड्न तयार छु,’ उनी भन्छन्,त्यसपछि राजनीतिमार्फत कर्मचारीको हकहितका लागी लड्नेछु ।’ खरो स्वभावका कर्मचारी नेता घिमिरे पहिलेदेखि नै ओलीका आलोचकका रुपमा चिनिन्छन् ।

त्यसो त झापामा माओवादी निकट बुद्धिजिपी युग पाठकले पनि चुनाव लड्ने घोषणा गरेका हुन् । उनले स्वतन्त्र रुपमा चुनाव लड्ने बताएका छन् । तर, उनको जनाधार छैन ।
झापा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका तर्फबाट बिद्यार्थी नेता रञ्जित तामाङले चुनाव लड्ने बताएका छन् । माओवादी सो क्षेत्रमा कमजोर भएकाले एमाले पृष्ठभुमीकै व्यक्तिलाई चुनावमा लडाउने गठबन्धनको तयारी छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता छैनन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले बलियो उम्मेदवार नपाएपछि त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक डा खगेन्द्र अधिकारीलाई राजीनामा दिन लगाएर उठाएको थियो । त्यतीबेला ओलीले ५७ हजार एक सय ३९ मत ल्याउँदा डा अधिकारीले २८ हजार दुई सय ५७ मत ल्याएको थियो । त्यतीबेला माओवादी र एमाले सँगै थियो । पाँच वर्षअघि ओलीको राष्ट्रवादी क्रेज पनि जनतामा धेरै थियो । अहिले ओलीले त्यो क्रेज गुमिसकेको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गरिसकेको छ । ओलीको गृह नगर दमकमा एमाले पराजित भएको थियो । त्यसकारण विपक्षी उम्मेदवार सशक्त भएमा झापा–५ मा ओलीलाई समस्या हुने देखिन्छ । सोही कारण ओली राप्रपासँग सहकार्य गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धन पनि ओलीविरुद्ध रणनीति बनाइरहेको छ । जसमा पछिल्लो समय देखी माेहन घिमिरे धेरै चर्चामा छन् ।

प्रकाशित मिति:September 9, 2022