मधुमेहका बिरामीलाई यी पाँच कुरामा ध्यान दिनु पर्छ

  Sampatti News Online

October 18, 2022

काठमाडौं । खानपानले जीवनशैलीमा प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। नियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ।

सामान्य – खाली पेट १०० एमजी/डीएल भन्दा कम, खानापछि १४० एमजी/डीएल भन्दा कम

मधुमेह रोग लागेको अवस्था – खाली पेट १२६ एमजी/डीएल भन्दा बढी, खानापछि २०० एमजी/डीएल भन्दा बढी

मधुमेह भएका बिरामीहरुमा भने चिनीको मात्रा खाली पेट परीक्षण गर्दा १३० भन्दा कम र खानापछि १८० भन्दा कम हुनुपर्छ।

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा सुनिल पोख्रेल मधुमहेका रोगीले खानपानमा विशेष ध्यान दिन आग्रह गर्छन्।

उनी भन्छन्, ‘मधुमेह नियन्त्रणका लागि खानाको सबैभन्दा विशेष भूमिका छ। मधुमेह बिरामीले चाडबाडमा गर्ने खानपानमाअझ बढी ध्यान दिनैपर्छ।’

चिकित्सकले हरेक मधुमेहका बिरामीलाई दैनिक गरिने खानपानको एउटा चार्ट बनाएर दिने गर्छ। त्यही चार्ट अनुसार मात्र मधुमेहका बिरामीले आफ्नो खानपान गर्नुपर्छ।

खसीको मासु, बंगुरको मासुमा चिल्लो बढी हुने भएकाले रातो मासु (खसी, राँगा, बंगुर) भन्दा सेतो मासु (माछा, कुखुरा) त्यो पनि मात्रा मिलाएर मात्र खानुपर्छ। मधुमेहका रोगीले एकै पटक धेरै खानेकुरा खानु हुँदैन। मात्रा मिलाएर थोरै थोरै गरी दिनमा चाररपाँच पटक खानेकुरा खाने बानी बसाल्नुपर्छ।

‘धेरैजसो बिरामीले मैले औषधि खाइरहेको छु। मैले जे खाए पनि हुन्छ भन्ने ठूलो भ्रम बिरामीहरुमा देख्छु। जुन सबैभन्दा ठूलो गल्ती हो’ उनले भने।

खानपानमा नियन्त्रण र नियमित शारीरिक व्यायाम नगरे जति औषधि खाएपनि मधुमहे नियन्त्रण हुन नसक्ने उनले बताए। उनका अनुसार मुख्य गरी यी पाँच कुरामा मधुमेहका बिरामीले विशेषध ध्यान दिनुपर्छ।

एक, खानपान

दोस्रो, शारीरिक व्यायाम

तेस्रो, मधुमेहको औषधि

चौथो, परीक्षण

र, पाँचौ मधुमेह सम्बन्धी ज्ञान।

मधुमेहका बिरामीले बिहान खाली पेट शारीरिक व्यायाम गर्नु हुँदैन। दूध, चिया वा फलफूल केही खाएपछि मात्र मर्निङ वाक वा अन्य कुनै शारीरिक व्यायाम गर्नुपर्ने उनले बताए। हप्ताको पाँच दिन र कम्तीमा ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ।

‘बिहान पानी मात्र खाएर व्यायाम गर्ने धेरैको चलन छ। तर मधुमेहका बिरामीले केही खाएर मात्र व्यायाम गर्नुपर्छ। बिहान सुगर कम हुन सक्छ। त्यो बेला थप व्यायाम गर्दा शरीरमा सुगरको मात्रा धेरै नै कम हुन सक्छ’ उनले भने।

शरीरमा चिनीको मात्रा धेरै र कम दुवै हुनु नै राम्रो होइन। चिनीको मात्रा नियन्त्रणमा नरहे यसले तत्कालीन र दीर्घकालीन असर गर्न सक्छ।

मुखहरु सुक्ने, शारीरमा पानीको मात्रा कम हुने, आँखाहरु धमिलो हुने, घाउँहरु निको नहुनु, विभिन्न संक्रमणहरु हुनु मधुमेहले निम्त्याउने तत्कालीन असरहरु हुन्। मधुमेह नियन्त्रणमा नरहे यसले दीर्घकालमा आँखा, मुटु, मिर्गौला र अन्य अंगहरु असर गर्छ। विश्वमा आँखा अन्धो हुने प्रमुख कारण मधुमेह भएको उनले बताए।

‘सामान्य व्यक्तिलाई भन्दा मधुमेह भएकालाई ह्रदयघात हुने संभावना दुई देखि चार गुणा हुन्छ’ उनले भने, ‘मधुमेहका बिरामीको मृत्युको प्रमुख कारण पनि मुटुकै समस्या हो। मिर्गौला फेल हुनुको प्रमुख कारण पनि मधुमेह नै हो।’

खानपानमा हेलचक्र्याई गरे शरीरमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्ने बताउँदै उनले भने, ‘खानामा केही कुरा थप्नुभयो भने अर्को खानेकुरा घटाइदिनुस्। कुनै दिन अलि बढी खाएका छौँ भने त्यस दिन अघि बढी व्यायाम पो गर्ने हो कीरु पाँच टुक्रा मासु खाएको बेला सुगर बढ्यो भने अर्को दिन अलि कम मासु खाने हो की रु’

मादक पदार्थको सेवन पनि मधुमेहका बिरामीको लागि घातक हुने उनले बताए। महुमेहका बिरामीले सकेसम्म ब्रत नबस्न उनको सुझाव छ। ब्रत बस्नैपर्ने भए औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ। चिकित्सकको सल्लाह लिएर मात्र मधुमेहका बिरामीले ब्रत बस्नुपर्ने डा पोख्रेल बताउँछन्। मुटु, मिर्गौला, आँखामा समस्या देखिसकेका मधुमेहका बिरामीले ब्रत बस्नु हुँदैन।

खानपानमा ध्यान नदिँदा चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीको संख्या धेरै हुने गरेको उनले बताए। शरीरमा चिनीको मात्रा सधै नियन्त्रणमा राख्नुपर्ने बताउँदै उनले भने, ‘चिनीको मात्रा घट्ने र बढ्ने हुँदा शरीरलाई नोक्सान गर्छ। खानपान र शारीरिक व्यायाम ध्यान नदिँदा जति औषधि दिएपनि मधुमेह नियन्त्रणमा आउन गाह्रो हुन्छ।’

प्रकाशित मिति:October 18, 2022