लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे निष्कर्ष निकाल्याे

  Sampatti News

June 23, 2020


काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य सामग्री खरिदमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएर अख्तियारको दुरुपयोग भएको र महंगोमा स्वास्थ्य सामग्री खरिद गरिएको समितिको ठहर छ । 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरूपयोग गरिएको र अनियमितता भएको निष्कर्ष निकालेको हो।

संसदीय समितिकोरा सभापति भरतकुमार साहले खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको भन्दै अनियमितता भएको निष्कर्ष निक्लेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग सामान खरिद गर्दा स्वास्थ्य विभागका महानिर्देशकलाई बाइपास गरेर सम्झौता गरेको थियो। स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै चर्को विरोध भएपछि सरकारले चैत २० गते ओम्नीसँग गरेको सम्झौता रद्द गरेको थियो। त्यसपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।

प्रारम्भिक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रालिलाई वार्तामा सहभागी गराएको र कोटेसन लिएको, लागत अनुमान नेपाली रुपैयाँमा तयार गरी अमेरिकी डलरमा सम्झौता गरेका कारणले स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि परेको सभापति साहले बताए।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार प्रकाशित भएपछि लेखाले छानबिन शुरू गरेको थियो।

सोमवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य विभागमा महानिर्देशकलाई समितिमा बोलाइएको थियो।

बैठकमा उपस्थित स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य सामग्री खरिदबारे खरिद प्रक्रियामा संलग्न सम्बन्धित पदाधिकारीसँग समेत छलफल गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति:June 23, 2020