मधेश प्रदेशसभाका सदस्यले ८ भाषामा शपथ लिने

  Sampatti News Online

December 29, 2022

जनकपुर . मधेश प्रदेशसभामा १०७ सदस्य मध्ये ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। अन्यले नेपालीमा शपथ लिने छन्। शुक्रबार दिउँसो २ बजे तय गरिएको शपथ ग्रहण समारोहमा जनमत पाटीका १३ प्रदेशसभा सदस्यबाहेक अन्यले नेपालीदेखि उर्दुसम्ममा शपथ लिन चाहेको निवेदन प्रदेशसभामा बुझाएका हुन्।

प्रदेश संसद सचिवालयका सचिव रञ्जित यादवका अनुसार सप्तरी १ (क) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका राजकुमार लेखी, सिरहा–१ (क) बाट निर्वाचित राजेन्द्रप्रसाद चौधरी र बारा–४ (क) बाट निर्वाचित देवनारायण थारुसहित ३ जनाले थारु भषामा शपथ लिने  छन्।  त्यस्तै, महोत्तरी ३ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका अभिराम शर्मा, सर्लाही–१ बाट निर्वाचित लोसपाका उपेन्द्र महतो, रौतहट–१ (ख) बाट निर्वाचित कांग्रेसका कृष्णकुमार यादव, सर्लाही–२ (ख) बाट निर्वाचित कांग्रेसका कौशल किशोर राय, सर्लाही–२ (क) बाट निर्वाचित कांग्रेसका जंगीलाल राय, रौतहट–१ (क) बाट निर्वाचित कांग्रेसका नागेन्द्र साह, लोसपाका समानुपातिक सांसद रमिता प्रधान र रुपाकुमारी यादव, महोत्तरी–३ (ख) बाट प्रत्यक्ष निर्वाचित लोसपाका रानीकुमारी तिवारी, सर्लाही–४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह, नेपाली कांग्रेसका समानुपातिक सांसद सकुन्ती देवी महरा, जसपाका समानुपातिक सांसद शोभा देवी र सर्लाही–३ (ख) बाट प्रत्यक्ष निर्वाचित जसपाका संजयकुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने भएका छन्।

भोजपुरी भाषामा भने जसपाका समानुपातिक सांसद शाहिदा खातुन, बारा–२ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर, पर्सा–२ (ख) बाट निर्वाचित लोसपाका रमेशप्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका समानुपातिका सांसद शारदा पहाडी, रौतहट–४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद, बारा–१ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार यादव र पर्सा–४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवारसहित ७ जनाले शपथ लिने संसद सचिवालयले जनाएको छ।

त्यस्तै, महोत्तरी–१ (ख) बाट निर्वाचित माओवादी केन्द्रका भरतप्रसाद साह र महोत्तरी–४ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार सिंहसहित दुई जनाले मगही भाषामा शपथ लिने भएका छन्। बारा–४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल र महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले जानकारी दिए।

मैथिली भाषामा भने धनुषा–२ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव र सिरहा–१ (ख) बाट निर्वाचित राजकुमार गुप्ता तथा धनुषा–१ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा–३ (क) बाट निर्वाचित कांग्रेसका रामसरोज यादव, धनुषा–४ (क) बाट निर्वाचित कांग्रेसका शेषनारायण यादव, जसपाका समानुपातिक सांसदहरु मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, कांग्रेसका समानुपातिक सांसद कुमार कान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने भएका छन्।

नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी विमला अन्सारी तरुन्नुमले भने उर्दु भाषामा शपथ लिने सचिव यादवले जानकारी दिए।

यता, जनमत पार्टीका प्रत्यक्ष निर्वाचित सकिय मियाँ, सतिशकुमार सिंह, महेशप्रसाद यादव, शम्भुकुमार साह, सञ्जयकुमार यादव र त्रिभुवन साहसहित समानुपातिक सांसदहरु बबिताकुमारी राउत इसर, अनिताकुमारी साह, चन्दनकुमार सिंह, बसन्तकुमार कुशवाहा, रञ्जुकुमारी मण्डल खंग, हसिना खातुन र भाग्यश्रीकुमारी चौधरीले संसद सचिवालयमा आ–आफ्नो मातृभाषा सम्बन्धमा निवेदन नै दिएका छैनन्।

जबकि प्रदेशसभाका सदस्यलाई आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन सूचित समेत गरिएको थियो।

नेकपा एमालेका प्रत्यक्ष निर्वाचित शत्रुधनप्रसाद सिंह, मनोजकुमार सिंह, लखनदास तत्मा, दिपेन्द्रकुमार ठाकुर, सरोजकुमार यादव, मो. जैद आलम, त्रिलोकीप्रसाद, रविन्द्रदास श्रेष्ठ, महम्मद समीर, शारदादेवी थापा, हरिनारायण महतो र समानुपातिक सांसदहरु जयचन्द्रप्रसाद पटेल, पल्टीदेवी यादव, फुलोकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, पल्टीदेवी महरा, नाजिमा खातुन र मञ्जुकुमारी थापा मगरले नेपाली भाषामा शपथ लिने बताइएको छ।

त्यस्तै, नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित मोहम्मद समीम, संजयकुमार महतो, सुनिलकुमार यादव, श्यामप्रसाद पटेल, जर्नादन सिंह क्षेत्री र शंकरप्रसाद चौधरी तथा समानुपातिक सांसदहरु रेखा ठाकुर, इन्दुकुमारी साह, अञ्जना पण्डित, सकुन्तीदेवी महरा, नीलमकुमारी रजक, नुरुन नेसा एवम् मीनाकुमारी लामाले पनि नेपालीमै शपथ लिने सचिवालयले जनाएको छ।

यता, जसपाका प्रत्यक्ष निर्वाचित संजयकुमार यादव, लालबाबु राउत तथा समानुपातिक तर्फका सांसदहरु विन्दुकुमारी यादव र ललिता दासले पनि नेपाली भाषामा शपथ लिने भएका छन्।

त्यस्तै, लोसपाका प्रत्यक्ष निर्वाचित रामबाबु यादव र जयनुल राइन तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचित गोवीन्द बहादुर न्यौपाने, प्रमोदकुमार यादव, बेची लुंगेली र कनिश पटेल एवम् समानुपातिक सांसदहरु रत्नेश्वर गोइत यादव, लक्ष्मी देवी र किशोरी देवीले पनि नेपालीमै शपथ लिने भएका छन्।

नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित फकिरा महतो, युवराज भट्टराई र रहबर अंसारी तथा समानुपातिक सांसदहरु माला कर्ण, सुनिता यादव र मो. रजी हैदरले नेपाली भाषामा शपथ लिने बताइएको छ।

त्यस्तै, सप्तरी–४ (ख) बाट अनिरुद्धकुमार सिंह, सर्लाही–३ (क) बाट जवाहर लाल कुशवाहा, रौतहट–३ (क) बाट केशव राय, पर्सा–३ (क) बाट प्रमोदकुमार जयसवाल र बारा–२ (क) बाट स्वतन्त्र निर्वाचित सांसदहरु शारदा शंकर प्रसाद कलवारले नेपालीमै शपथ लिने भएका छन्।

राप्रपाका समानुपातिक सांसद कञ्चन बिच्छा र नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरीले पनि नेपाली भाषामै शपथ लिने बताइएको छ।
संसद सचिवालयले शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि प्रदेशसभा सदस्यहरुलाई अनुरोध गरेको छ।

प्रकाशित मिति:December 29, 2022