भ्रष्टाचारकाे आरोपमा: ६ जनाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

December 29, 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

कविलासी नगरपालिका वडा नं. ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत विल बनाई रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त विषयमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०७६/०७७ मा कविलासी नगरपालिका वडा नं. ८, सर्लाहीस्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी कितावमा मूल्याङ्कन गरी चढाएको पाइएको आयोगको भनाई छ ।

ठेक्का विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग उनीहरुले गरेका थिए ।  कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार ८४० रुपैयाँ रकम बढी भुक्तानी दिई-लिई भ्रष्टाचार गरेको आयोगको आरोप छ । 

उनीहरुविरुद्ध कैद र जरिवानाको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, तत्कालीन इन्जिनियर रामविनाय प्रसाद यादव, सब इन्जिनियर उमेश कुमार दास, अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार, र कोषाध्यक्ष रिना कुमारीसंग जनही ९७ हजार ८४० रुपैयाँ बिगो माग गरिएको छ । 

प्रकाशित मिति:December 29, 2022