तनहुँको बन्दिपुर गाउँपालिका एक हप्ताको लागि शिलःप्रहरी कार्यालय समेत बन्द

  Sampatti News

June 23, 2020

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द हुने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।


बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको अध्यक्ष पुर्णसिंह थापाले बताए ।
पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समूहका ९ जना पुरुष र ३५ वर्षीया १ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


गाउँपालिकाका अनुसार क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टिनमा रहेका ८ जना गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेका सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराए ।

प्रकाशित मिति:June 23, 2020